अफ्रिकामा चीनको आर्थिक प्रभाव

आजको समयमा चीन विश्वको आर्थिक महाशक्तिको दौडमा दौडिरहेको कुरो सत्य हो । यसले विश्वका अन्य महादेशहरूजस्तै अफ्रिकामा समेत आफ्नो आर्थिक प्रभाव विस्तार गर्दै गइराखेको छ । अहिले अफ्रिकी महादेशका सबैजसो मुलुकहरू चिनियाँ सामानहरूको ठूलो बजारको रूपमा रहेको छ र ठूलो मात्रामा ऋण उपलब्ध गराउनुको अतिरिक्त अफ्रिकी मुलुकहरूको विकासको लागि आवश्यक पूर्वाधार निर्माणमा चीनले प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले सहयोग गर्दै आइराखेको छ र त्यहाँ चीनको प्रविधिको मनग्य प्रयोग भइराखेको छ । चीनको आर्थिक प्रगतिको मोडेललाई अफ्रिकी मुलुकहरूले पछ्याउने कोसिस गरेरहेका छन् । यति मात्रै नभएर चीनले कुनै समयमा सुडानजस्तो द्वन्द्वग्रस्त मुलुकमा एक समयमा आफ्ना चार हजार शान्ति सेना पठाएर इतिहास कायम गरेको चीनले अफ्रिकी मुलुकहरूको शान्ति, स्थायित्व र प्रगतिका लागि आफू समेत प्रतिबद्ध रहेको सन्देश विश्वलाई दिँदै त्यहाँ आफ्नो उपस्थितिलाई बलियो पार्दै लगेको छ तर केही लेखकहरू चीनले अप्रत्यक्ष ढंगले सुडानमा द्वन्द्व चर्काउन भूमिका खेलेको दोष नलगाएका भने होइनन् ।
गएको एक दशकभन्दा बढी समयदेखि चीन सरकारले अफ्रिकी महादेशका मुलुकहरूमा पश्चिमी मुलुकहरूका तुलनामा धेरै लगानी गर्दै आइराखेको छ । होवार्ड डब्ल्यू फ्रेन्चको भनाइलाई साँचो मान्ने हो भने चीन र अफ्रिकाबीचको मधुरसम्बन्धको तीव्र गतिको सुरूवात सन् १९९६ मा ज्याङ जेमिनले इथियोपियाको भ्रमणबाट सुरू भएको हो । यो उनले सन् २०१४ मा प्रकाशित आफ्नो पुस्तक ’ चाइनाज सेकेन्ड कन्टिनेन्ट’ भन्ने पुस्तकमा उल्लेख गरेका छन् । त्यही पुस्तकमा लेखिएअनुसार जेमिनले अफ्रिकन युनियनको मुख्य कार्यालय (हेड क्वार्टर) अद्दिस अबाबामा चीन—अफ्रिका कोअपरेसन फोरम खोल्नको निम्ति प्रस्ताव गरेका थिए । त्यसको केही वर्षपछि नै जेमिनले नै अफ्रिकी मुलुकहरूलाई दिइने सहयोग रकम अफ्रिकन डेभलपमेन्ट फन्डलाई दोब्बर पारेर पाँच बिलियन बनाए र ऋण माफ गर्ने र इथियोपियामा नयाँ अफ्रिकन युनियन हेड क्वार्टर बनाउने र अफ्रिकामा पाँचवटा व्यापार र सहयोग क्षेत्रहरूको निर्माण गर्नेजस्ता सहयोगपूर्ण कार्यहरू गरेर अफ्रिकीहरूको मन जित्ने कामहरू गरे । यस्ता कामहरूले अफ्रिकामा चीनको प्रभावलाई वृद्धि गर्नमा सहयोग पु¥याए । चीनले अफ्रिकन युनियनलाई पु¥याएको नैतिक र आर्थिक सहयोग र अफ्रिकन डेभलपमेन्ट बैंकलाई पु¥याएको सहयोग पनि महत्वपूर्ण छन् । चीनको आर्थिक प्रगतिको मोडेललाई पछ्याएमा निम्न आयको मुलुकबाट मध्यम आय भएको मुलुकको रूपमा दह्रिन सकिने भन्ने कुरा एकचोटि अफ्रिकन डेभलपमेन्ट बैंकका प्रमुखले व्यक्त गरेका थिए ।
अफ्रिकी मुलुकहरूको आर्थिक विकासका निमित्त चीनले पु¥याउँदै आएको ठूलो आर्थिक सहयोग पाश्चात्य मुलुकहरू आफैँले र उनीहरूको नियन्त्रणमा रहेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले प्रदान गरेका वित्तीय सहयोगभन्दा धेरै र प्रभावकारी रहेको देखिन्छ । तिनीहरूले सहयोग प्रदान गर्नुपूर्व ऋणी मुलुकहरूलाई तेस्र्याउने शर्तहरू सार्वभौमसत्तामा समेत आघात पु¥याउने र नवउपनिवेशवादी प्रकृतिका समेत हुने गर्दछन् । लेखक मिसेल चुसडोवस्कीले आफ्नो पुस्तक ‘ग्लोबलाइजेसन अफ पोभर्टी’मा ऋण प्राप्त गर्नका निमित्त पूरा गर्नुपरेको शर्तहरूका कारणले नै धेरै अफ्रिकी मुलुकहरूको आर्थिक अवस्था झन् रूग्ण बन्न गएको तथ्य उल्लेख गरेका छन् । चीनबाट सहयोग लिँदा भने त्यस्ता किसिमका शर्त पालना गर्नुपर्ने जरूरी हुँदैन । यसैले चीनको सहयोग ती मुलुकहरूमा प्रिय हुँदै गइराखेको अवस्था छ । चीनको आयातनिर्यात बैंकले अफ्रिकी मुलुकहरूलाई सन् २००१ देखि सन् २०१० को अवधिमा ६२ दशमलव सात बिलियन अमेरिकी डलर ऋणको रूपमा उपलब्ध ग¥यो । यो रकम विश्व बैंकले ती मुलुकहरूलाई उपलब्ध गराएको रकमभन्दा १२ दशमलव ५ बिलियनले बढी देखिन्छ । यसको एउटा अर्को अर्थ के पनि लाग्दछ भने चीन अफ्रिकी मुलुकहरूका लागि पाश्चात्य मुलुक र तिनीहरूद्वारा नियन्त्रित वित्तीय संस्थाहरूको विकल्प बनेको र अफ्रिकामा अमेरिकाजस्ता पश्चिमी मुलुकहरूको वर्चस्व घट्दै गइराखेको तर चीनको भने बढ्दै गइराखेको छ ।
चीनका र अफ्रिकाका उच्च पदाधिकारीहरूले उच्च महत्वका साथ समय—समयमा एक–अर्काका मुलुकहरू भ्रमण गर्ने गर्दछन् । एक दशकअगाडि चीनले सन् २००६ मा ठूलो तामझामका फ्यान फेयरको आयोजना ग¥यो जसमा ५३ वटा अफ्रिकी मुलुकमध्ये ४८ वटा मुलुकहरूले आफ्नो सहभागिता जनाएका थिए र पछि गएर त्यसै फोरमको ब्यानरमुनि चाइना अफ्रिका इन्डस्ट्रियल फोरमको स्थापना गरियो । चीनमा साम्यवादी शासन लागू भइसकेपछि त्यहाँ अफ्रिकी नेताहरूको जमघट भएको त्यो पहिलो अवसर थियो र त्यस अवसरमा चीन र अफ्रिकी मुलुकहरूका बीचमा अनेकौं किसिमका आर्थिक सहयोगका लागि समझदारी र सम्झौताहरू तय भएका थिए । यस अवसरमा एक दशमलव ५ बिलियनको थप ऋण सहायता अफ्रिकी मुलुकहरुलाई दिने वाचा ग¥यो र पुराना ऋणहरू पनि माफी दिने कुरा पनि चीनले ग¥यो । यसबाहेक चीनले सन् २००९ सम्ममा अफ्रिकामा वैदेशिक सहायताको रकम दोब्बर पार्नेजस्ता कुराहरू पनि भए । यसबाहेक चिनियाँ र अफ्रिकी नेताहरूका बीचमा दूरसञ्चार, पूर्वाधारहरू, बीमा, खानी आदिजस्ता अनेकौँ क्षेत्रहरूमा एक दशमलव नौ अर्ब अमेरिकी डलरबराबर रकमको व्यापारिक सम्झौताहरू भए । तर चीनले यी क्षेत्रहरूमा एकाधिकार राख्न भने नपाइने सम्झौता भने तय गरियो । सन् २००७ को फेब्रुअरीमा चीनका त्यति बेलाका राष्ट्रपति हु जिन्ताओले अफ्रिकी मुलुकहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आठवटा अफ्रिकी मुलुकहरूको भ्रमण पनि गरे ।
चीनले अफ्रिकी मुलुकहरूमा आफ्ना सामानहरू सस्तो मूल्यमा निर्यात गर्नुको साथै ती मुलुकहरूबाट मुख्य गरी तेल र त्यसबाहेक खनिज, उद्योगका लागि कच्चा पदार्थ र थुप्रै मात्रामा अन्य वस्तुहरू पनि आयात गर्ने गर्दछ । अहिलेको सन्दर्भमा विश्वमा अमेरिकापछि चीन तेलको दोस्रो ठूलो उपभोक्ता हो । रोव्यन मेरेडिथले सन् २००७ मा प्रकाशित आफ्नो पुस्तक ‘द इलिफेन्ट एन्ड ड्रागन’मा  संयुक्त राज्य अमेरिकाले दैनिक २० दशमलव छ मिलियन ब्यारेल र चीनले दैनिक छ दशमलव नौ मिलियन ब्यारेल तेल उपभोग गर्ने कुरा लेखेकी थिइन् । चीनले आफूलाई आवश्यक पर्ने कच्चा तेल अंगोला, सुडान, कंगो, ग्याबोन, भूमध्यरेखीय (इक्विटेरियल) गूयना, चाँद र नाइजेरियाजस्ता मुलुकहरूबाट आयात गर्ने गर्दछ । चीनले अंगोलाबाट साउदी अरेबियाभन्दा ज्यादा तेलको आयात गर्ने गर्दछ । अहिलेको सन्दर्भमा संयुक्त राज्य अमेरिका र फ्रान्सपछि चीन अफ्रिकाको तेस्रो ठूलो व्यापार साझेदार मुलुक हो । अफ्रिकासँग चीनको ठूलो परिमाणमा व्यापार हुने गर्दछ । सन् २०११, २०१२, २०१३, २०१४ र २०१५ मा चीन र अफ्रिकाबीच क्रमशः १६६ दशमलव ३२ बिलियन, १९८ दशमलव ४९ बिलियन, २१० दशमलव २४ बिलियन, २२१ दशमलव ९६ बिलियन र १७९ दशमलव ०३ बिलियन अमेरिकी डलर बराबरको व्यापार भएको छ । व्यापारको वृद्धिदर ती वर्षहरूमा क्रमशः ३० दशमलव ९ प्रतिशत, १९ दशमलव ३ प्रतिशत, ५ दशमलव ९ प्रतिशत, ५ दशमलव ६ प्रतिशत र १९ दशमलव ३ प्रतिशत(ऋणात्मक) रहेको छ । चीन र आन्तरिक द्वन्द्वको चपेटामा परेको दक्षिणी सुडानको बिचमा पनि सन् २०१४ मा ४ दशमलव ४ बिलियन डलरबराबर रकमको व्यापार भयो । दक्षिणी सुडानको अशान्तिले गर्दा त्यहाँ चीनको आर्थिक पुनर्निर्माणको प्रयासले भने समय लिनेछ ।
चीन अफ्रिकी मुलुकहरूसँग आर्थिक एवम् व्यापारिक सम्बन्ध कायम गर्दा ‘एक चीन नीति’लाई धेरै महत्वका साथ शर्तका रूपमा अगाडि सार्ने गर्दछ र आफ्ना व्यापारिक वा आर्थिक साझेदार मुलुकहरूले यसलाई सम्मान गरून् भन्ने उसले सधैँ चाहन्छ । त्यसैले सन् १९९० को दशकमा ताइवानलाई मान्यता दिने अफ्रिकी मुलुकहरू २० वटा रहेकोमा हाल त्यसको संख्या जम्मा चारवटा मात्रै रहेको लेखक हर्ष भी. पन्त सन् आफ्नो पुस्तक ‘द चाइना सिन्ड्रोम’मा उल्लेख गर्दछन् । चीन ‘एक चीनको नीति’लाई आफ्नो जीवनमरणसँग गाँस्दछ र विश्वका सबै मुलुकहरूलाई यसप्रति प्रतिबद्ध भएको देख्न चाहन्छ ।
ज्यान जेमिनले आफ्ना मुलुकका व्यापारिक कम्पनीहरूलाई विदेशमा समेत गएर आफ्नो व्यापार गर्ने आह्वान गर्दै एक चोटी भाषण गरे, तदनुरूप नै आजकल विश्वस्तरीय चिनियाँ कम्पनीहरू वा व्यापारिक प्रतिष्ठानहरूले अफिकी मुलुकहरूमा समेत आफ्ना आर्थिक प्रभाव विस्तार गर्दै छन् र ती मुलुकहरूको आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान दिँदै आइराखेका छन् । यसको उदाहरणको पूर्वी चीनको जियाङ्सु प्रान्तमा प्रधान कार्यालय रहेको जे.डी. युनाइटेड म्यानुफ्याक्चरिङ कर्पाेरेसन हो । गार्मेन्टहरूको संसारभर पूर्ति गर्ने यस व्यापारिक प्रतिष्ठानले तान्जानियामा समेत आफ्नो उत्पादन कार्य सुरू गरेको छ । त्यहाँ १६ मिलियन अमेरिकी डलरको लगानीमा खोलिएको र वर्षेनी ३ मिलियन पिस निर्यात गर्ने यो चिनियाँ प्रतिष्ठान ३३ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यसै गरेर सन् २०१३ देखि दक्षिण अफ्रिकामा चीनको सरकारी व्यापारिक प्रतिष्ठान बेइजिङ अटोमोबाइल वक्र्सले आफ्नो कारखाना स्थापना गरेको छ । त्यहाँ भएको कुल १३ बिलियन डलर रकम प्रत्यक्ष लगानीको ७५ प्रतिशत वित्त, म्यानुफ्याकचरिङ र प्रशोधन, व्यापारलगायत सेवाहरू, कृषि र यातायातमा गएको छ । दक्षिण अफ्रिकाको लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार र चीनको लागि दक्षिण अफ्रिका अफ्रिकामा नै सबैभन्दा ठूलो साझेदार मुलुक हो ।
सन् २०१६ मा चीनमा सम्पन्न जी—२० को बैठकमा चीनले अफ्रिकामा लगानी र पूर्वाधारको विकास गर्दै औद्योगीकरण गर्न चाहेको कुरा उल्लेख ग¥यो । यसैअनुरूप कृषिक्षेत्रमा पनि चीनले अफ्रिकाका ४० वटा मुलुकहरूलाई विगत ६० वर्षभन्दा बढी समयदेखि पर्याप्त योगदान गरिरहेको छ । अफ्रिकामा चीनको सहयोगमा सन् २००९ सम्मको अवधिमा २०० वटा कृषि आयोजनाहरू र २० वटा मत्स्य उद्योगहरू पनि सञ्चालित छन् । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ११ सय विशेषज्ञहरू अफ्रिकाका ११ वटा अनुसन्धान स्टेसनहरूमा कार्यरत छन् । त्यसो भए पनि कुल भूमिको १० प्रतिशत मात्रै कृषियोग्य भूमि भएको चीनलाई लेखक कार्ल गेर्थले सन् २०१० मा प्रकाशित आफ्नो पुस्तक ‘याज चाइना गोज, सो गोज द वरल्ड’मा उल्लेख गरेअनुसार २००६ उप्रान्त अफ्रिकी मुलुकहरूको १० हजार वर्गमाइल कृषियोग्य भूमि आफ्नो फाइदाको निमित्त किनेको र कृषि उत्पादन कार्यको लागि पाँच बिलियन डलर खर्च गरेको दोष लाग्ने गरेको छ । अर्थात् चीनले अफ्रिकालाई आफ्नो लागि खाद्यान्न उत्पादन उपयोग गरेको भन्ने उनको धारणा थियो । तर यो कुरामा सत्यताको अंश ज्यादै कम छ भन्ने धारणा लेखिका सेसिलिया टोरटाजादाको रहेको छ ।
आर्थिक प्रगतिका निमित्त अत्यावश्यक पूर्वाधारको रूपमा रहेको यातायातको विकास गरिनु अत्यावश्यक हुन्छ । चिनियाँ रेलवे कम्पनीहरूले अफ्रिकी मुलुकहरूमा रेलवे यातायातको विकासको लागि महत्वपूर्ण योगदान दिइराखेका छन् । यसै क्रममा चीन—अफ्रिका साझेदारीमा निर्माण भएको तान्जानिया ( जाम्भिया रेल्वे सेवालाई लिन सकिन्छ । यो रेलसेवा पूर्वमा तान्जानियाको राजधानीबाट पश्चिममा जाम्भियाको कापिरीम्पोसीसम्म रहेको छ । त्यसै गरेर अंगोलामा १३४४ किलोमिटर लम्बाइको बेन्गुयला रेलवेलाई पनि चीनले पुनर्निर्माण गरेको छ । यो रेलसेवा त्यस मुलुकको लोबिटो सहरदेखि कंगोको सीमामा पर्ने लुआऊ सहर सञ्चालित छ । त्यसै गरेर १८६ दशमलव ५ किलोमिटर लामो रेलवे गेज नाइजेरियामा पनि निर्माण गरिएको छ, त्यसले राजधानी अबुजा र उत्तर–पश्चिम राज्य कदुनालाई जोड्दछ । यो सन् २०१६ को जुलाईदेखि सञ्चालनमा आएको छ । त्यसै गरेर केन्यामा मोम्बासा—नैरोबी स्टान्डार्ड रेलवे गेजको निर्माण मे, २०१६ देखि गर्न सुरू भएको छ र यसै वर्षभित्र त्यसलाई पूरा गर्ने उद्देश्य राखिएको छ । ४७२ किलोमिटर लामो उक्त रेलवे चाइना रोड एन्ड ब्रिज करपोरेसन (सीआरबीसी)ले निर्माण गरेको हो । चाइना रेलवे ग्रुपद्वारा सेप्टेम्बर २०१५ देखि इथियोपियामा चाइना रेलवे ग्रुपद्वारा निर्माण गरिएको अद्दिसअबाबा लाइट रेल ट्रान्जिट सञ्चालनमा आयो । त्यसै गरेर तीन दशमलव चार बिलियन डलरको लागतमा चाइना रेलवे ग्रुप र चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन (सीसीईसीसी)द्वारा निर्मित इथियोपिया—डिजिबोटी इलेक्ट्रिक रेलवेमा पनि चीन सरकारको महत्वपूर्ण सहयोग रहेको छ । यो निर्माण गर्दा लागेको कुल खर्चको ७० प्रतिशत हिस्सा चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकबाट र बाँकी इथियोपियाको सरकारले व्यहोरेको छ । कुल ७५६ किलोमिटर लामो दूरी १० देखि १२ घण्टामा पार गर्न सम्भव भएको छ । पहिले सडक यातायातको प्रयोग गर्दा यो दूरी पार गर्न धेरै दिन लाग्ने गर्दथ्यो । अघिल्लो वर्षको अक्टुबर ५ देखि सुरू भएको सेवा अहिले तीन महिनाको लागि परीक्षण अवधि रहने बताइएको थियो । यसै महिनादेखि यात्रुसेवा सुरू गरिने निर्णय गरिएको थियो । उक्त सेवा सुरू भएपछि दैनिक ५६ सय मानिसहरूले सेवा पाउन र ३५ सय टन सामानको ओसारपसार गर्न सम्भव हुने देखिएको छ । त्यसै गरेर तान्जानियाका पहिलो राष्ट्रपतिको नाममा त्यहाँ निर्माण गरिएको छ सय ८० मिटर लम्बाइ र ३२ मिटर चौडाइ भएको पुललाई पनि लिन सकिन्छ । यसको निर्माण सन् २०१२ को फेब्रुअरीबाट सुरू भएको र सन् २०१६ को मे महिनाबाट खुला भएको हिन्द महासागरमाथि बनेको त्यस पुलले राजधानी दारेसलाम र किगाम्बोनी जिल्लालाई जोड्दछ । यसरी चीनले अफ्रिकामा यातायात क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्दै आइराखेको छ । अर्को कुरा  अफ्रिकामा सञ्चालित चिनियाँ लगानीका परियोजनाहरूमा अधिकांश स्थानीयले नै रोजगारी पाउने गर्दछन् र निर्माणका लागि सकेसम्म स्थानीय साधनको प्रयोग गर्ने गरिन्छ । चीनका धेरै पर्यटकहरू दक्षिण अफ्रिकामा जाने गर्दछन् । सन् २०१३ त्यहाँ पग्ने चिनियाँ पर्यटकहरूको संख्या १ लाख ५१ हजार आठ सय ४७ पुगेको थियो । सञ्चारको विकासको लागि यसले सन् २०१२ मा तान्जानियामा ७ हजार ५ सय ६० अप्टिकल फाइबर केवल नेटवर्कको लागि सहयोग पनि गरेको छ ।
आर्थिक विकासमा महत्वपूर्ण स्वास्थ्यसेवामा पनि चीनले महत्वपूर्ण सहायता गरेको छ । चीनले सन् २०१४ मा गुयना, लाइबेरिया गुयना बिसाउ र सिरियालियोनमा फैलिएको इबोला रोगलाई नियन्त्रण गर्नका लागि १ लाख ६२ हजार छ सय अमेरिकी डलर रकमबराबरको आवश्यक सामग्री र विशेषज्ञ चिकित्सकहरू पनि पठाएर सो रोग नियन्त्रणमा महत्वपूर्ण योगदान ग¥यो । अक्टुबर १६, सन् २०१४ मा इटलीको मिलानमा भएको एसिया (युरोप मिटिङ समिटमा चीनका प्रधानमन्त्रीले पश्चिमी अफ्रिकामा इबोलासँग लड्नका लागि सय मिलियन युआन (३८ मिलियन अमेरिकी डलर) थप सहायताको वचन दिए । त्यसभन्दा अगाडि कुल ३८ मिलियन डलरको अविस्मरणीय सहयोग अफ्रिकालाई गरिसकेको छ । यीबाहेक विज्ञान र प्रविधिको विकासको लागि दक्षिण अफ्रिकामा विज्ञान र प्रविधि पार्कको निर्माण र सूचना तथा सञ्चार प्रविधिको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउनु पनि महत्वपूर्ण छ ।
यति हुँदाहुँदै पनि चीन र अफ्रिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति थाबो मबेकीजस्ता नेताहरूले समस्या देखेका छन् । आफ्नो मुलुकले सहनुपरेको चीनसँगको व्यापारघाटालाई तुरून्त ठीक पार्न सकिएन भने आफ्नो मुलुक चीनको आर्थिक उपनिवेश बन्न जाने उनको तर्क छ । त्यसै गरेर अहिले नै एक मिलियन चिनियाँहरूको अफ्रिकी मुलुकहरूमा बसाइसराइले भविष्यमा समस्या जन्माउने भय पनि छ ।
अफ्रिकामा अरूभन्दा बलियो उपस्थिति जनाइराखेको चीनले त्यहाँ समावेशी तथा दिगो विकासको चाहना राखेको देखिन्छ । यसक्रममा चीनले यातायात, सञ्चार, कृषि, उद्योग, स्वास्थ्यजस्ता क्षेत्रमा सहायता गर्दै र ठूलो परिमाणमा त्यहाँ व्यापार गर्दै आएबाट यसले आफ्नो आर्थिक प्रभाव फैलाउँदै गएको बुझिन्छ । अफ्रिका आफ्नो प्रभाव क्षेत्रबाट क्रमशः बाहिर जाँदै गरेको परिस्थिति अमेरिकालगायत पाश्चात्य मुलुकहरूलाई अपाच्य भइराखेको हुनुपर्दछ । अफ्रिकी मुलुकहरू र चीनको बीचमा देखिएको आपसी सहयोग र सहकार्यको यो सिलसिला लामो कालसम्म पनि यथावतै रहने बलियो सम्भावना देखिन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com