५७ ठाउँमा सडक निर्माण गर्दा ऊर्जा मन्त्रालयको स्वीकृति अनिवार्य

५५ हजार मेगावाट जलाशययुक्त जलविद्युत् आयोजनाको पहिचान


रामप्रसाद पुडासैनी
काठमाडौं, वैशाख २७ऊर्जा मन्त्रालयले देशभरका साना÷ठूला गरी झण्डै ५५ हजार मेगावाट क्षमताका ५७ वटा जलाशययुक्त जलविद्युत् आयोजनाको पहिचान गरेको छ । दुईवटा आयोजनाको क्षमता छ÷छ सय मेगावाटभन्दा बढी हुने भन्दै अहिले ५४ हजार छ सय ३६ दशमलव चार मेगावाटको पहिचान भएको तथ्यांक ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको छ ।
खिम्ती शिवालय र एसएन पावरको तामाकोशी तेस्रो आयोजनाको क्षमता क्रमशः छ÷छ सय मेगावाटभन्दा माथि हुने भएकाले ५५ हजार मेगावाट क्षमताको जलाशययुक्त विद्युत् आयोजना बन्ने ऊर्जा मन्त्रालयको दाबी छ । ऊर्जा मन्त्रालयका अनुसार खिम्ती शिवालय जलाशययुक्त आयोजनाको क्षमता कम्तीमा छ सय मेगावाट र बढीमा एक हजार तथा एसएन पावरको तामाकोशी तेस्रो कम्तीमा छ सय मेगावाट र बढीमा एक हजार दुई सय मेगावाटसम्मको हुने देखिएको हो ।
ऊर्जा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको विवरण अनुसार २२ हजार चार सय २० मेगावाट क्षमताका १२ वटा आयोजनाको अध्ययन भइरहेको र तीमध्ये केही आयोजना निकट भविष्यमै निर्माण गर्नसकिने खालको छ । प्रधानमन्त्री कार्यालयका अनुसार ५७ ठाउँमा जलाशययुक्त आयोजनाको पहिचान भएको कारण ती ठाउँमा सडक र रेललगायत अन्य भौतिक पूर्वाधारको काम गर्दा ऊर्जा मन्त्रालयसँग अनिवार्य रुपमा समन्वय गर्नुपर्नेछ ।
प्रधानमन्त्री कार्यालयले यही वैशाख २३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै ती आयोजनाको पहिचान भएको ठाउँमा पूर्वाधार निर्माण गर्दा आयोजनालाई असर नपर्ने गरी बनाउनुपर्ने र बनाउनैपर्ने भएमा ऊर्जा मन्त्रालयसँग समन्वय गरेर निर्माण गर्नुपर्ने भनेको छ । साथै निर्माण गरिने पूर्वाधारहरु ती आयोजनाले पनि उपभोग गर्नसक्ने गरी बनाउनुपर्ने उल्लेख छ । मुख्यसचिव डा. सोमलाल सुवेदीले हस्ताक्षर गरेर भौतिक मन्त्रालयमा पठाइएको पत्रमा भनिएको छ, ‘त्यस मन्त्रालयबाट निर्माण गरिने पूर्वाधारका आयोजना निर्माण गर्दा त्यस्ता जलाशययुक्त आयोजनाहरुलाई असर नपर्ने र पूर्वाधारको दिगो उपयोग हुनसक्ने गरी सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आयोजना तर्जुमा तथा निर्माण गर्ने व्यवस्था मिलाउनुहुन सुशासन ऐन २०६४ को दफा १० (२) (ख) बमोजिम निर्देशन गर्दछु ।’ मुख्यसचिवको निर्देशनात्मक पत्र प्राप्त गरेपछि भौतिक मन्त्रालयले सोमबार नै सडक र रेल विभागलाई पत्र लेख्दै तोकिएका ठाउँमा पूर्वाधार निर्माणको काम गर्दा ऊर्जा मन्त्रालयसँग अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भनेको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार ऊर्जा मन्त्रालयले प्रत्येक प्रदेशमा पहिचान भएका जलाशययुक्त जलविद्युत् आयोजनाको विवरणबनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार प्रदेश नम्बर १ को मोरङमा तीन हजार मेगावाट क्षमताको सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा इलाम र झापामा ४४ मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय जलविद्युत् आयोजनाको अध्ययन भइरहेको छ । कन्काईबाट सो क्षेत्रका ६७ हजार चार सय ५० हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा पुग्नेछ । सो क्षेत्रमा सात हजार दुई सय चार दशमलव चार मेगावाटका नौवटा अन्य जलाशययुक्त आयोजना पहिचान भएका छन् । प्रदेश नम्बर १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा जिल्ला पर्छ ।
त्यस्तै, प्रदेश नम्बर २ मा ६० मेगावाटको सुनकोशी कमला डाइभर्सन आयोजनाको अध्ययन भइरहेको छ । उक्त आयोजना पनि प्रदेश नम्बर १ मा पर्ने उदयपुर जिल्लाबाट सुरु हुनेछ । उक्त २ नम्बर प्रदेशमा १४० मेगावाटको बागमती मल्टिपर्पोज आयोजना पनि अगाडि बढाउनसकिने ऊर्जाको दाबी छ । जलविद्युत्को विकासमा २ नम्बर प्रदेश सबैभन्दा कमजोर देखिएको छ । ती दुवै आयोजना प्राविधिक र आर्थिक रुपमा कमजोर छन् । प्रदेश नम्बर २ मा ठोरी गाविसबाहेक पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला पर्छन् ।
ऊर्जा मन्त्रालयका अनुसार प्रदेश नम्बर ३ मा जलाशययुक्त ६० मेगावाटको कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा छ भने एक हजार एक सय १० मेगावाटको सुनकोशी–२ बहुउद्देश्यीय जलाशययुक्त आयोजना, पाँच सय ३६ मेगावाटको सुनकोशी–३ र १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको अध्ययन कार्य जारी छ । आर्थिक वर्ष २०७३÷०७४ मा कम्तीमा छदेखि बढीमा एक हजार मेगावाट क्षमता हुने खिम्ती शिवालय जलाशययुक्त आयोजना प्रस्ताव गरिएको छ । उक्त ३ नम्बर प्रदेशमा एक हजार नौ सय ७४ मेगावाट क्षमताका सातवटा अन्य जलाशययुक्त आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयको दाबी छ । ३ नम्बर प्रदेशमा, पर्साको ठोरी गाविस, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला पर्छन् ।
यस्तै, ऊर्जा मन्त्रालयका अनुसार ४ नम्बर प्रदेशमा १५ सय मेगावाटको त्रिशूलगंगा जलाशययुक्त जलविद्युत् आयोजना र १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको अध्ययन जारी छ । उक्त ४ नम्बर प्रदेशमा सात हजार तीन सय ४८ मेगावाटका अन्य १३ वटा जलाशययुक्त आयोनजा निर्माण गर्न सकिनेछ । ४ नम्बर प्रदेशमा नवलपरासीको दाउन्नेपूर्व, बागलुङको पूर्वी क्षेत्र, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत जिल्ला पर्छ ।
यसैगरी, प्रदेश नम्बर ५ मा नौमुरे, कर्णाली चिसापानी र शारदा बबई गरी तीनवटा जलाशययुक्त आयोजनाको अध्ययन कार्य भइरहेको छ । नौमुरेबाट दुई सय ४५ मेगावाट विद्युत् र ८० हजार तीन सय ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । दश हजार आठ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाबाट सो क्षेत्रका एक लाख ९१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त प्रदेशमा एक हजार एक सय ७१ मेगावाटका अन्य जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको सम्भावना पनि छ । उक्त प्रदेशमा नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको पश्चिम क्षेत्र, दाङ, प्यूठान, रोल्पा, रुकुमको रुकुमकोट पूर्व, बाँके र बर्दिया जिल्ला पर्छ ।
ऊर्जा मन्त्रालयका अनुसार प्रदेश नम्बर ६ मा चार सय १० मेगावाटको अध्ययन भइरहेको नलसिङगाडसहित अन्य सातवटा गरी चार हजार तीन सय ४० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न सकिनेछ । प्रदेश नम्बर ७ मा छ हजार चार सय ८० मेगावाट क्षमताका पञ्चेश्वर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको अध्ययन भइरहेको छ । सो आयोजनाबाट नेपालले आधा मात्र विद्युत् पाउनेछ । यसमा अन्य १२ हजार सात सय ५६ मेगावाट क्षमताका जलाशययुक्त आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयको दाबी छ ।


तत्काल अगाडि बढाउन लागिएको सात प्रदेशका जलाशययुक्त जलविद्युत् आयोजनाहरु ः


प्रदेश १     तमोर जलाशययुक्त जलविद्युत् आयोजना ७६२ मेगावाट
प्रदेश २     जलाशययुक्त जलविद्युत् आयोजनाहरु नभएको
प्रदेश ३     सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना ५०० मेगावाट
प्रदेश ४     बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना १२०० मेगावाट
प्रदेश ५     नौमुरे जलाशययुक्त जलविद्युत् आयोजना २४५ मेगावाट
    शारदा–बबई आयोजना ९० मेगावाट
प्रदेश ६     नलसिङगाड जलाशययुक्त जलविद्युत् आयोजना ४१० मेगावाट
प्रदेश ७     पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना ७५० मेगावाट

    पञ्चेश्वर जलविद्युत् आयोजना ६४८० मेगावाट (नेपाल–३२४०÷भारत–३२४०)
कुन प्रदेशमा कुन–कुन जलाशययुक्त आयोजना ?

प्रदेश नम्बर १ (६४५९.४ मे.वा.)
१.    कन्काई बहुउद्देश्यीय जलविद्युत् आयोजना इलाम, झापा– ४४ मेगाावट
२.    सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना– ३,००० मेगावाट
३.     तमोर जलाशययुक्त आयोजना, ताप्लेजुङ–७६२ मेगावाट
४.    दूधकोशी स्टोरेज–३०० मेगावाट
५.    माई–स्टोरेज– ६१.४ मेगावाट
६.     सुनकोशी–१ स्टोरेज– १३५७ मेगावाट
७.     अपर माई स्टोरेज आयोजना– ५३ मेगावाट
८.     तमोर–१ स्टोरेज– ६९६ मेगावाट
९.     तमोर–३ स्टोरेज १८६ मेगावाट

प्रदेश नम्बर २ (२०० मे.वा.)
१०.     सुनकोशी कमला डाइभर्सन आयोजना ६० मेगावाट
११.     बागमती मल्टिपर्पोज १४० मेगावाट

प्रदेश नम्बर ३ (५४२० मे.वा.)
१२.     सुनकोशी–२ बहुउद्देश्यीय जलाशय आयोजना– १११० मेगावाट
१३.     सुनकोशी–३ बहुउद्देश्यीय जलाशय आयोजना–५३६ मेगावाट
१४.     बूढीगण्डकी आयोजना– १२०० मेगावाट (धादिङ–३ र गोरखा–४ प्रदेश)
१५.     खिम्ती शिवालय जलाशययुक्त आयोजना ६००–१००० मेगावाट
१६.     इन्द्रावती स्टोरेज ९३ मेगावाट
१७.    कोखाजार स्टोरेज १११ मेगावाट
१८.     लाङटाङ स्टोरेज २२१ मेगावाट
१९.     सप्तगण्डकी आयोजना ७०० मेगावाट
२०.     तामाकोशी–३ १२३ मेगावाट
२१.     तामाकोशी–३ एसएन पावर ६००–१२०० मेगावाट
२२.     तामाकोशी–४ १२६ मेगावाट

प्रदेश नम्बर ४ (१००४८ मे.वा.)
२३.     त्रिशूलगंगा स्टोरेज–१५०० मेगावाट
२४.     आँधीखोला स्टोरेज १८० मेगावाट
२५.     आँधीखोला (युएनडीपी स्टडी) १८० मेगावाट
२६.     बूढीगण्डकी आयोजना १२०० मेगावाट
२७.     कालीगण्डकी–१ १६०० मेगावाट
२८.     कालीगण्डकी–२ १६०० मेगावाट
२९.     मादी वेगनास रुपा ७७ मेगावाट
३०.     मादी इशानेश्वर १३३ मेगावाट
३१.     मस्र्याङ्दी स्टोरेज ७४० मेगावाट
३२.     सप्तगण्डकी आयोजना ७०० मेगावाट
३३.     सेती–स्टोरेज १६० मेगावाट
३४.     सुरनागाड स्टोरेज ३८ मेगावाट
३५.     त्रिशूलगंगा स्टोरेज १५०० मेगावाट
३६.     अपर सेती तनहुँ १४० मेगावाट
३७.     उत्तरगंगा ३०० मेगावाट

प्रदेश नम्बर ५ (१२२६६ मे.वा.)
३८.     नौमुरे बहुउद्देश्यीय आयोजना–२४५ मेगावाट
३९.     कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना–
    १०,८०० मेगावाट
४०.     शरदा–बबई बहुउद्देश्यीय आयोजना–९३ मेगावाट
४१.     भालुबाङ एमपीपी १०७ मेगावाट
४२.     लोवर बडीगार्ड खोला स्टोरेज ३८० मेगावाट
४३.     लोवर झिमरुक स्टोरेज १४२ मेगावाट
४४.     मादी रोल्पा स्टोरेज १९९ मेगावाट
४५.     उत्तर गंगा ३०० मेगावाट

प्रदेश नम्बर ६ (४२४७ मे.वा.)
४६.     नलसिङगाड जलविद्युत् आयोजना– ४१० मेगावाट
४७.     लोहारे स्टोरेज ६७ मेगावाट
४८.     भेरी बीआर–३ए १९७ मेगावाट
४९.     भेरी बीआर–३बी ११९२ मेगावाट
५०.     भेरी बीआर–४  ९६४ मेगावाट
५१.     भेरी बीआर–५  १२६९ मेगावाट
५२.     चेरा–१      १४८ मेगावाट

प्रदेश नम्बर ७ (१५९९६ मे.वा.)
५३     पञ्चेश्वर बहुउद्देश्यीय आयोजना–६४८० मेगावाट (नेपाल–३२४०÷भारत–३२४०)
५४.     कर्णाली चिसापानी १०,८०० मेगावाट
५५.     रुपाली गाढ २४० मेगावाट
५६.     सेती एसआर–६   ९६६ मेगावाट
५७. पश्चिम सेती ७५० मेगावाट
स्रोत ः ऊर्जा मन्त्रालय


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com