सरकार र सहकारी अभियानबीच जुहारी

सहकारी विधेयकमाथि जथाभावी टिप्पणी नगर्न उपप्रधानमन्त्रीको निर्देशन

आर्थिक संवाददाता ,
काठमाडौं चैत १८ ,
पछिल्लो समय सहकारीमा देखिएको समस्या समधान गर्न र सहकारी ऐनलाई समयसापेक्ष बनाउन सहकारी अभियानले सहयोग नगरेको सरकारले आरोप लगाएको छ । यता सहकारी अभियानले भने सहकारी ऐन अभियानको मतविपरीत ल्याएर सरकारले सहकारी अभियानलाई संकुचन गर्नखोजेको भन्दै विरोध गरेपछि सार्वजनिक कार्यक्रममै सरकार र सहकारी अभियानबीच मतभेद देखिएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले बिहीबार राजधानीमा आयोजना गरेको ‘साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७२’ विषयक दुई दिने गोष्ठीको उद्घाटनसत्रमा सहकारी अभियान र सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मतभेद देखिएको हो । उक्त गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका नाममा अनुचित काम गर्नेको संख्या बढि रहेको भन्दै सहकारी नै पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता आँैल्याए । उनले नेपाल परनिर्भर भएकोले विदेशीहरुले  हेपाहा प्रवृत्ति देखाएको भन्दै अब मुलुक राजनीतिक संक्रमणबाट मुक्त भएकोले आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बेला भइसकेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘सहकारीमार्फत मुलुकभित्रै रहेको स्रोत र साधनको उपयोग गरेर आत्मनिर्भर दिशामा केन्द्रित हुनुपर्छ ।’ मुलुकको विकासलाई तीव्र गति दिने भन्दै उनले भूकम्पपछिको पुनर्निर्माणले नेपाललाई विकासको पथमा लैजाने भएको अब सरकारका काम कारबाहीहरुलाई पूर्वाधार विकास निर्माण, संरचना निर्माणमा केन्द्रित गरिने बताए । यस्तै सो अवसरमा उपप्रधान एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारी अभियानकै जोडबलमा सहकारी मन्त्रालय स्थापना भएको र मन्त्री पनि पाएको अवस्था रहेको भन्दै भने, ‘तर सहकारीमा रहेको समस्या र सहकारी ऐनलाई समयसापेक्ष बनाउनका लागि अभियानले साथ दिएको छैन ।’

यस्तै मन्त्री केसीले सरकारले सहकारीको मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तलाई नै केन्द्रमा राखेर काम गरिरहेको र त्यहीअनुसार सहकारी विधेयक बनाएर मन्त्रिपरिषद्मा पेस गरेको बताए । उनले भने, ‘सहकारी अभियानले सहकारीलाई नै संकुचन गरेर मन्त्रालयले सहकारी ऐन ल्याउनलागेको आरोप लगाएर यसको जथाभावी व्याख्या विश्लेषण नगरोस् । मन्त्री दिएर मात्रै हुँदैन सहयोग पनि गर्नुपर्छ ।’ आफू मन्त्रालय सम्हालेको चार महिना भएको र सहकारी पीडितहरुको दबाब खेप्न नसकेको उनले बताए । सहकारी आन्दोलनलाई कुण्ठित गर्ने मन्त्रालयको कुनै मनसाय नरहेको उनले स्पष्ट पारे ।

सो गोष्ठीमा उनले भने, ‘सहकारी अभियानमा संलग्न केही व्यक्तिले समितिमा सहकारी ऐन पाँच वर्षसम्म पनि आउन नदिने अभिव्यक्ति दिएको पाइएको छ, यो ऐन मेरा लागि होइन, सिंगो सहकारी क्षेत्रको स्तरोन्नति, ऐनलाई समयसापेक्ष बनाउनका लागि ल्याउन लागिएको हो ।’ सहकारीका नाममा जे गर्न पनि छुट नभएको भन्दै उनले सहकारीलाई मुलुकको आर्थिक विकास तथा सामाजिक विकासमा केन्द्रित गर्न आवश्यक रहेको बताए । यस्तै, सभासद् तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी मन्त्रालयले हालै ल्याएको सहकारी विधेयकले सहकारी अभियानलाई संकुचित गरेको दाबी गरे । सहकारी आन्दोलनले हालसम्म हासिल गरेका उपलब्धिहरुलाई संकुचन गर्न खोजिएको भन्दै उनले भने, ‘सहकारीको दायरा, कार्यक्षेत्र, सदस्य संख्यालगायतका विषयहरु मन्त्रालयले निर्धारण गर्ने होइन ।’
यस्तै, सहकारी सचिव शंकरप्रसाद अधिकारीले समस्याग्रस्त सहकारी संस्थाले सिंगो सहकारी अभियानमाथि नै प्रश्न चिह्न उठेको बताए । सबैभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरुमा समस्या देखिएको भन्दै उनले सहकारी संस्थाहरु सहकारी सिद्धान्त, मूल्यमान्यताबाट विमुख भएको उल्लेख गरे । दर्ता, सञ्चालक, संस्थाको व्यवस्थापन, पुँजी कोष र बचतको अनुपातलगायतका विषयहरुमा धेरै समस्या देखिएकोले सहकारीको शुद्धीकरण आवश्यक भएको उनले बताए । यस्तै नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरेले शुक्रबारसम्म सञ्चालन हुने गोष्ठीले सहकारी संस्थाहरुको कार्यकारी अधिकृतहरुको क्षमता अभिवृद्धि र आगामी कामका लागि थप सहयोग पुग्ने विश्वास व्यक्ति गरे । उक्त गोष्ठीमा नौवटा कार्यपत्र पेस हुनेछन् । ५२ जिल्लाबाट तीन सय व्यवस्थापन प्रमुखहरु काठमाडौंमा भेला भएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com