आयल निगम र नेशनल ट्रेडिङको एकीकरण गरिने

काठमाडौं, पुस २७ ,
  सरकारले नेपाल आयल  निगम र नेशनल ट्रेडिङ लिमिटेडबीच ‘मर्जर’ गर्ने भएको छ । निगमलाई व्यापारिक रुपमा अगाडि बढाउन नेशनल ट्रेडिङलाई ‘मर्ज’ गर्नलागेको हो । उद्योगमन्त्री दीपक बोहराका अनुसार ती दुई संस्थानबीच ‘मर्जर’ गर्न गृहकार्य सुरु भइसकेको छ । ती दुवै संस्थालाई एकआपसमा गाभेपछि के नाम राख्ने भन्ने फाइनल भएको छैन । तर, दुवै संस्थालाई एउटै बनाएपछि पुँजीवृद्धि गरिनेछ ।


‘आयल निगम र नेशनल ट्रेडिङलाई गाभेर एउटै बनाउने गृहकार्य भइरहेको छ’, नेपाल आयल निगमको ४७औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आपूर्तिमन्त्री दीपक बोहराले भने, ‘दुई संस्था मर्ज भएपछि निगमलाई व्यापारिक रुपमा अगाडि बढाउन सजिलो हुनेछ ।’


नेशनल ट्रेडिङको अवस्था खस्किँदै गए पनि पछिल्लो समयमा निगम भने नाफामा छ । यी दुई संस्था एकीकृत भएमा नेशनल ट्रेडिङको नाममा रहेको जग्गा निगमले सदुपयोग गर्नेछ भने दुवैतिरका कर्मचारी थप व्यस्त हुनेछन् ।


यसैबीच, नेपालमा ९० दिनका लागि पेट्रोलियम पदार्थको भण्डारण क्षमता (स्टोरेज क्यापासिटी) बढाउनका लागि ३२ अर्ब रुपैयाँभन्दा बढी रकम लाग्ने देखिएको छ । आपूर्तिमन्त्री बोहराले चार लाख किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता विकास गर्नका लागि उक्त रकम सरकारले दिनुपर्ने बताएका हुन् ।


सरकारले ९० दिनका लागि पुग्ने गरी भण्डारण क्षमता अभिवृद्धिका लागि कामहरु अघि बढाएको भन्दै मन्त्री बोहराले भने, ‘भण्डारण केन्द्रहरु सरकार आफैँ बनाउने कि पीपीपी मोडल (सार्वजनिक–निजी साझेदारी)मा बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । यसलाई समाधान गर्ने पहल भइरहेकोछ ।’  


काठमाडौंमा रहेका पेट्रोलियम पम्पहरुलाई व्यवस्थित र सुरक्षित गर्न आवश्यक भएको भन्दै मन्त्री बोहराले विनियमावलीमा भएका व्यवस्थाहरुलाई कडाइका साथ लागू गर्न निगमलाई निर्देशन दिए । कार्यक्रममा आपूर्ति सचिव प्रेमकुमार राईले तोकिएको पोसाक नलगाउने कर्मचारीहरुको रकम रोक्का राख्न निर्देशन दिँदै राम्रोलाई पुरस्कृत र नराम्रोलाई कारबाही गर्न निगम प्रशासन सचेत हुन आवश्यक भएको बताए ।


ग्यासलगायतका पेट्रोलियम पदार्थहरुमा अटोप्राइस (स्वचालित मूल्य) प्रणाली अनिवार्य भएकोले यो प्रणालीअनुसार अघि बढ्न भन्दै उनले प्रविधिमा निगमले पहुँच वृद्धि गर्न आवश्यक भएको बताए । यस्तै निगमका कार्यकारी निर्देशक इन्जिनियर गोपालबहादुर खड्काले चालू आर्थिक वर्षमा पूर्वाधार निर्माणलाई नै उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।


उनले इन्धन भण्डारण क्षमता वृद्धि, भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको भन्दै अगाडि भने, ‘पाइपलाइन आयोजना निर्माणका लागि आवश्यक जग्गाहरु उपलब्ध भए छिटै निर्माण प्रक्रिया सुरु गरिनेछ ।’ ट्यांकर अभावमा पेट्रोलियम पदार्थ भित्र्याउन नसकिएको उनले बताए । यस्तै उनले धादिङमा ६० दिनका लागि पुग्ने गरी १५ हजार मेट्रिक टन क्षमताको ग्यास स्टोरेज बनाउने तयारी भएको बताए ।


नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका उपाध्यक्ष मनोजकुमार दास, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम बिक्रीलगायतका विनियमावली निर्माण गर्दा स्टकहोल्डरलाई समावेश नगरिनु दुःखद भएको बताए । उनीहरुले निगम खुला व्यापार तथा प्रतिस्पर्धी बजारमा आउन पर्ने धारणा राख्दै पूर्वाधार विकास तथा व्यापार विविधीकरणमा जोड दिए । पम्प सुधारमा जग्गा तथा भौतिक पूर्वाधारमा समस्या हुने उनीहरुले बताए । नेपाल आयल निगम कर्मचारी संगठनका अध्यक्ष देवीप्रसाद न्यौपानेले पेट्रोलियम प्राधिकरण गठन गर्न माग गरे । उनीहरुले एक महिनाको तलबअनुसार प्रोत्साहन रकम र परिवहन(यातायात) खर्च दिनसमेत सो अवसरमा माग गरे । हिमा वि.क.

चोर बाटोबाट निगम कर्मचारीलाई मासिक ४५ सय भत्ता !
   नेपाल आयल निगमले आफ्ना कर्मचारीहरुको लागि चोरबाटो प्रयोग गरेर मासिक चार हजार पाँच सय रुपैयाँ भत्ता खुवाउने तयारी गरेको छ । सरकारले निगम कर्मचारीलाई बोनस वितरण गर्न रोक लगाएपछि यातायात खर्च शीर्षकमा प्रत्येक कर्मचारीलाई उक्त रकम दिन लागिएको हो । यातायात खर्च दिने विषयमा आपूर्तिमन्त्री दीपक बोहरा पनि सकारात्मक छन् ।


‘निगमका कर्मचारीहरुलाई यातायात खर्च दिन सकिन्छ’, आयल निगमको ४७औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आपूर्तिमन्त्री बोहराले भने, ‘यातायात खर्च दिँदा उचित नै हुन्छ ।’ निगम नाफामा गएको भन्दै कर्मचारीहरुले बोनस पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सरकारले बोनस वितरण नगर्ने भनेपछि कर्मचारीहरु सर्वसाधारणको विरोधबाट बच्न परिवहन खर्च अर्थात् यातायात खर्च पाउनुपर्ने पक्षमा छन् । निगमका कर्मचारीहरुले बोनस खान नपाए पनि परिवहन अर्थात् यातायात खर्च पाउनुपर्ने माग राखेको र उक्त मागप्रति आपूर्ति मन्त्रालय र निगम सकारात्मक देखिएपछि कर्मचारीहरुले मासिक यातायात खर्चबापत चार हजार पाँच सय रुपैयाँ पाउने लगभग पक्का भएको हो ।


निगमको विनियमावलीमा परिवहन खर्च उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म उक्त शीर्षकमा रकम विनियोजन नगरिएको निगमले जनाएको छ । निगम सञ्चालक समितिले उक्त प्रस्ताव सकारात्मक रुपमा लिँदै केही दिनमै औपचारिक निर्णय गर्ने भएको छ । सञ्चालक समितिका अध्यक्ष एवं आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले पनि कर्मचारीको उक्त मागलाई सम्बोधन गर्ने आश्वासन मंगलबार आयोजित कार्यक्रममा जानकारी दिए । निगमका अनुसार हाल स्थायी र अस्थायी गरी करिब सात सय ५० जना कर्मचारी कार्यरत छन् । प्रत्येक कर्मचारीलाई ४५ सयका दरले वितरण गर्दा निगमलाई मासिक ३३ लाख ७५ हजारको भार पर्नेछ । यो भार जनतालाई बिक्री गरेको तेलबाट असुल गरिनेछ । यदि उक्त रकम दिने हो भने एक वर्षमा निगमले कर्मचारीहरुका लागि मात्रै यातायातको नाममा चार करोड पाँच लाख वितरण गर्नुपर्नेछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com